LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

ज्ञानमणि नेपाल

शोभा शर्मा

ज्ञानमणि नेपाल जिल्ला शिक्षा अधिकारी बनेर पाँचथर गएको एकवर्ष सात महिना पुग्यो। यी १९ महिना पाँचथरका सार्वजनिक विद्यालयमा शिक्षाको गुणस्तर बढाउन उनी अहोरात्र खटे। राजनीतिक दल, शिक्षक संगठनहरूसँग घम्साघम्सी नै पर्‍यो। उनी पछि हटेनन्। लक्ष्यमा दृढ उनले विद्यार्थीको हित छोडेनन्, अरु केहीलाई टेरेनन्।

आज पाँचथर जिल्लाका ३९४ स्कुलमा उनलाई नचिन्ने विद्यार्थी कमै छन्। उनको मोबाइल नम्बर थाहा नहुने कोही छैन। दिनहुँ उनको मोबाइलमा विद्यार्थीका फोन र एसएमस आउँछन्।

स्कुलमा शिक्षकले पढाए/नपढाएको विद्यार्थीले नै जानकारी गराउन थालेका छन् जिशिअलाई। 

स-साना नानीहरूसँग जिशिअ यति सहज छन्, विद्यालय निरिक्षणका बेला जाँदा उनलाई पच्छ्याउँछन् र भन्छन्- 'सर, तपाईं आउनुस् न हामीलाई पढाउन'

यी जिशिअका लागि जीवन, कर्म र सुख त्यही हो।

अचेल शिक्षकहरूमा पढाउने तरिका सुधार्ने रुची बढेको छ पाँचथरमा। कति त सुधारको प्रतिस्पर्धामै उत्रिएका छन्।

फिदिम उच्च माविको एक कक्षा नमूना कक्षा हो।

पुरानो ढर्रा फेरिएको त्यो कक्षामा शिक्षकहरूले विद्यार्थीलाई सिकाउन आफ्नो सम्पूर्ण क्षमता लगाएका छन्। ‘कक्षामा शिक्षकले पनि साह्रै राम्रो ‘पर्फमेन्स्’ गरेका छन्। विद्यार्थी पनि निकै राम्रा भएर निस्केका छन्,’ नेपालले सुनाए।
त्यही कक्षामा जिशिअले फिदिम (पाँचथरको सदरमुकाम) का केही ‘सम्पन्न’हरूलाई ल्याएर देखाएका थिए। ‘ल सर, अब छोराछोरीलाई हामीले प्राइभेट छोडेर यहीँ भर्ना गर्ने हो,’ अभिभावकहरूले नै उनलाई भने।

जिशिअ नेपालले अचेल शिक्षकहरूलाई भन्ने गरेका छन् 'ल हेर्नुस् न, यस्तो त तपाईंले नै बनाउन सक्नु हुँदो रहेछ नि'

विद्यार्थी घरै नगई पढ्न सुरिएको देखेर शिक्षकहरूमा पनि पढाउने रुची र जाँगर बढेको छ।

पाँचथरमा मात्रै होइन, यी जिशिअको शिक्षा सुधार अभियानले इलाम र तेह्रथुमलाई पनि सकसक पारिसकेको छ। इलाम र तेह्रथुमका शिक्षक र आरपी(स्रोतव्यक्ति)हरूले पनि फोन गरेरै भन्न थालेका छन्- सर, हामीले पनि चेन्ज गर्नुपर्‍यो। कसरी गर्ने सिकाउन आउनुपर्‍यो।

अस्ति मंगलबार जिशिअ नेपालको हौसलाले आकाश छोयो।

त्यो दिन ललितपुरस्थित रातोबंगला स्कुलकी शान्ता दीक्षितले पाँचथरका सबै सरकारी स्कुलका शिक्षकलाई तालिम र अन्य सहयोग गर्ने वाचा दिएकी थिइन्। जब कि दुई वर्षअघि नेपाल आफैँ सहयोग गरिदिनुपर्‍यो भन्ने आग्रह लिएर रातोबंगला पुगेका थिए। उनैले फर्काएकी थिइन्।

‘अब पाँचथरका नानीहरूले पनि स्तरीय शिक्षा पाउने भए,’ उनले भने, ‘ मलाई यति खुसी, यति सन्तोष कहिल्यै भएको थिएन।’

उत्साही हुँदै उनले थपे, ‘तीन वर्ष पाँचथर बस्न पाए, जिल्लालाई नमूना बनाउँछु। अन्तर्राष्ट्रिय स्तरको शिक्षा जिल्लामै दिलाउँछु।’

******** 

जिशिअका रूपमा पहिलो नियुक्ति बुझेर नेपाल फिदिम जिल्ला शिक्षा कार्यालयमा हाजिर भए, २०७० साल असार ३ गते। ४ गतेदेखि नै शिक्षक तालिम थियो।

कसरी विद्यार्थीलाई सिकाउने भनेर तालिम लिइरहेका थिए शिक्षक। उनीहरूले पाठ्यक्रम कसरी लागू गर्ने भनेर तालिममा देखाए। तालिम त राम्रो भयो।

जिशिअले सोधे- यही कुरा तपाईंहरूले कक्षाकोठामा लागू हुन्छ कि हुन्न?

शिक्षकहरू मुखामुख गरे।

‘लेसन प्लान बनाएर पढाउने कति हुनुहुन्छ हात उठाउनुहोस् त,’ उनले भने।

कुनै पनि शिक्षकका हात उठेनन्।

जिशिअ नेपालले उनीहरूलाई भने, ‘जनाताको लाशका रेमिटेन्सबाट आएको पैसाबाट तलब थाप्ने हो तपाईंहरूले उनीहरूका बच्चालाई राम्रोसँग पढाउन पर्दैन?’

शिक्षकहरू उनीसँग रिसाए। जिशिअविरुद्ध समाचार लेखाउन भिडियो रेकर्ड नै मिडियामा पठाइदिए। जिशिअले माफ माग्नु पर्ने माग राख्दै सिडियोको कार्यालय घेर्न गए । जब रेडियोमा रेकर्ड बज्यो, उल्टो असर पर्‍यो। जनताले वास्तविकता थाहा पाए, मिडिया र अभिभावकले जिशिअलाई नै सपोर्ट गरे।

नेपालको सुधारको गाडी अघि बढ्यो ।

यो पनि पढ्नुस-

(पाँचथर हल्लाउँदै छन् यी जिशिअ)

शिक्षकहरूलाई कक्षाभित्र राख्न अर्को तरिका पनि अपनाए, विद्यार्थीहरूलाई लगबुक दिएर। यो लगबुक धेरैजसो विद्यालयका ६ देखि १० कक्षासम्मलाई बाँडे। कक्षाको लिडरले लगबुकमा कुन शिक्षक कतिखेर आए कतिसमय कक्षामा बसे भनेर टिप्न थाले।

यसमा शिक्षक, विद्यार्थी, प्रधानध्यापकलगायतको हस्ताक्षर हुन्थ्यो। ‘विद्यार्थीले लगबुकमा शिक्षक आएरगएको लेख्न थालेपछि शिक्षकले त सुखै नपाउने रैछ,’ उनले भने, ‘शिक्षकहरू कक्षाकोठा भित्र त पसे तर मोटिभेटेड भएनन्।’

शिक्षकलाई नै पढाउनमा मन बसाल्ने र उनीहरूलाई आत्मविश्वासी बनाउने चुनौती थियो। विद्यार्थीलाई भन्दा पनि शिक्षकलाई नै पढाउनुपर्ने देखेर उनले त्यो पनि व्यवस्था मिलाए। फिदिम (स्रोतकेन्द्र) नगरपालिकाभित्रैका ३२ वटा विद्यालयका शिक्षकका लागि यो व्यवस्था थियो।

तर, शिक्षकहरूले पढाउनुपर्छ। सिक्नका लागि उत्साही शिक्षक भइदिएको भए, बिहान/बेलुकाको समय पनि पर्याप्त थियो। उनीहरूका पनि घरव्यवहार हुन्छन्।

खासगरी प्राथमिक तहका शिक्षकहरूलाई पढाउनु थियो। साना कक्षाको पढाइ सुधार्न सकेपछि त विद्यार्थीको पढाइमा रुची बढ्छ।  उनीहरूको सिक्ने तरिका राम्रो र सिर्जनात्मक हुनुपर्छ। त्यसका लागि त पहिले शिक्षकहरूलाई नै ‘मोटिभेटेड’ गर्नुपर्‍यो। 

जिशिअले शिक्षकहरूको समस्यासमेत पत्ता लगाएका थिए- अरु विषयभन्दा अंग्रेजी र गणितमा उनीहरू कमजोर छन्।

शनिबार उनीहरूलाई ठूलो कक्षाका शिक्षकले पढाउन थाले। केही शिक्षक त आए, अरु आएनन्। जागिर मात्रै खाने मानसिकता भएकाले सिक्ने/सिकाउने रुची राख्दैनन्। उनीहरूले आदेशकै भाषा बुझ्छन्। प्राथमिक तहका शिक्षकहरूलाई ‘जसरी पनि शनिबार आउनै पर्ने, नआए सरुवा गरिदिने’ चेतावनी नै दिए उनले।

पहिले पाठ्यक्रम विकास केन्द्रमा काम गरेका नेपालले त्यहाँ किताबहरू काम नलागेको देखेका थिए। ‘इभालुयसनका लागि पठाएका किताबहरू कता फालौँ भन्ने तनाव हुन्छ केन्द्रलाई तिनै किताब मैले लैजान्छु भनेँ।’

दुई गाडी किताब लगेर उनले फिदिम र नामिडाँडामा लाइब्रेरी बनाए। सात महिना पढाएपछि क्षमता र विश्वास पनि बढ्यो शिक्षकहरूमा। उनीहरू आत्मैदेखि पढाउने काममा मोटिभेटेड भए।

विद्यार्थीको पढाइलाई असर गर्ने अर्को समस्या देखेका थिए नेपालले-  कक्षाकोठामा पसेर किताबमा जे छ, त्यही पढाउने र फर्किने।

सिकाउने जाँगर उनीहरूमा कत्ति थिएन। त्यसले उनीहरूको जागिर त पाक्थ्यो तर सिर्जनात्मक क्षमता न उनीहरूको बढ्थ्यो न विद्यार्थीको। घोकन्ते विद्यार्थी उत्पादन गर्ने कारखानाजस्तै बनेको त्यसै होइन।

‘ठूलालाई आदर गर्नुपर्छ’ भन्ने पाठ्यक्रमको उद्देश्य छ भने किताबमा उदाहरणसहितको पाठ हुन्छ।  शिक्षकहरूले त्यही पाठ पढाएर मात्रै निस्किन्छन्। ‘रामले आफ्नो काकालाई नमस्कार गर्छ’ भन्ने उदाहरण पढेका विद्यार्थीले त्यही मात्रै बुझ्छन्। ‘आफ्ना काकालाई तिमी के गर्छौ?’ भन्ने प्रश्न सोध्यो भने भन्न सक्दैनन्। किनभने किताबमा त्यो हुन्न।

‘यसरी पढाउँदा पठ्यक्रमको उद्देश्य पूरा हुँदैन,’ उनले भने, ‘पाठ्यक्रमको उद्देश्य अनुसार उपलब्धि पाउन त विद्यार्थीलाई पढाउने होइन, सिकाउनु पर्थ्यो।’

नेपालले के पनि थाहा पाए भने शिक्षकहरूले पाठ्यक्रम नै पढेका हुँदैनन्।  ‘कुनै पनि विद्यालयमा पाठ्यक्रम नै रहेनछ,’ उनले भने। पाठ्यक्रम अनिवार्य किन्न उनले विद्यालयलाई निर्देशन दिए।

****** 

सामुदायिक स्कुलका विद्यार्थी एकदमै कमजोर थिए। फिदिमको सबैभन्दा राम्रो मानिएको विद्यालयमा कस्तोसम्म भेटियो भने १० को विद्यार्थीले जोडघटाउ नजानेको

‘होइन, पढाउनुहुन्न, सिकाउनुहुन्न कि के हो?’ उनले शिक्षकलाई सोधे।

शिक्षकहरूको जवाफ हुन्थ्यो- त्यसो होइन, अभिभावकले नियमित  पठाउँदैनन्। उनीहरू रेगुलर नभएपछि राम्रोसँग पढाउन सकिदैँन। ‘त्यसो भए एकदम कमजोर विद्यार्थीलाई मकहाँ पठाइदिनुस्,’ सदरमुकामनजिकैका विद्यालयमा गएर उनले भने।

अघिल्लो वर्ष कसैले पनि विद्यार्थी पठाएनन्।

यो वर्ष उनीकहाँ फिदिम उच्च माविका शिक्षक दुर्गा खत्रीले ५ जना विद्यार्थी पठाइदिए। गणितमा शून्य, दुई र तीन नम्बर ल्याएका थिए उनीहरूले ९ कक्षाको परीक्षामा । तर पनि उनीहरूलाई कक्षा चढाइएको थियो। स्कुल व्यवस्थापन समिति र प्रध्यानाध्यापकको निर्णयले पास गराएको रहेछ। त्यो सबै विद्यालयको रोग नै थियो।

आफूकहाँ आएका पाँच जनालाई त सिकाउन पर्‍यो। जिशिअ नेपालकी पत्नीले गणित विषय नै पढेकी थिइन्।

‘लौ यी विद्यार्थीलाई तिमीले नै पढाउनुपर्‍यो,’ उनले आफ्नी पत्नीलाई भने।

१० कक्षाका ती विद्यार्थीले ५ र १० अंक जोड्दा कति हुन्छ समेत भन्न सकेनन्। उनकी पत्नीले दुई कक्षाका किताब ल्याएर तिनलाई पढाउन थालिन्। १० कक्षाका विद्यार्थीले एक हप्तामा दुई कक्षाको हिसाब जान्ने भए।

त्यसपछि ३ कक्षा, अनि ४ कक्षा गरेर दुई महिनामा ९ कक्षाको कोर्स सकियो। ‘बल्ल उनीहरू १० कक्षाको हिसाब गर्न सक्ने भए,’ नेपालले भने, ‘एक जनाले त पछि एसएलसी पास नै गरे।’

यसरी विद्यार्थीसँग बसेर उनीहरूको समस्या बुझेर पढाउने जाँगर शिक्षकमा भएको भए, उनीहरू कमजोर किन हुन्थे र? ‘८ या ९ कक्षामै यसरी सिकाएको भए त उनीहरू सबै पास हुन्थे नि’ उनले शिक्षकहरूलाई बोलाएर भने।

शिक्षकहरूलाई पनि हो भन्ने लाग्न थाल्यो।

यो घटनापछि उनले बुझेका छन् हाम्रोमा ‘रिमिडियल टिचिङ’ (अघिका कमजोरीलाई सुधार गर्ने शिक्षण पद्धति) नै छैन। 

‘त्यसो किन नगर्ने त?’ उनले शिक्षकहरूलाई सोधेका छन्।

‘अहिले हामीले स्कुल सुधार्छौँ भनेर शिक्षकहरूले नै लेखेर दिएका छन्,’ उनी मुस्कुराए, ‘हिजो डरले भनेका थिए, आज अन्तरआत्माबाटै मोटिभेटेड छन्।’

*******

पाँचथरका प्रायस् विद्यालयको निरिक्षणपछि नेपालले विद्यार्थीहरूको परीक्षा लिन लगाए। आफ्ना घरवरिपरि देखेका तीन घटना उल्लेख गर्न भनिएको थियो।

६ कक्षाका ८० प्रतिशत विद्यार्थीको जवाफमा थियो- बाबु रक्सी खाएर आउँछन्, चुरोट बिँडी खान्छन्, जुवातास खेल्छन्, आमाबुवाको बोलचाल हुँदैन।

‘उनीहरूको जवाफ देखेपछि विद्यालय मात्रै होइन, सामाजिक सुधार नै गर्नुपर्ने देखियो,’ नेपालले भने।

एफएममै उनले आफ्नो मोबाइल नम्बर सार्वजनिक गरेपछि गुनासा र उजुरीको ओइरो लाग्न थाल्यो। कति शिक्षक रक्सी खाएर बाटोमा हल्लिएका खबर पनि आउँथे। रक्सी चुरोट त विद्यालयमा खान कुनै रोकतोक थिएन। विद्यालयलाई सुधार्न शान्तिक्षेत्र बनाउनुपर्ने विचार जिशिअको मनमा आयो।

यो कुरा उनले कार्यालयमा राखे। राजनीतिक दललाई बोलाएर भने। केही दलले समर्थन जनाए। तर, धेरैजसोले विद्यालय शान्ति क्षेत्र बनाउने कुरा गर्नै मानेनन्।

विद्यार्थी र शिक्षकलाई राजनीतिमा लगाउन नपाइने र विद्यालयमा राजनीतिक कार्यक्रम गर्न नपाइने भन्ने सर्त उनीहरूलाई मञ्जुर हुने कुरै भएन। शिक्षकहरूको पार्टीसँगको सम्बद्धता पनि एउटा कारण थियो।

मन लागे विद्यालय जाने र मन नलागे नजाने बानी परेका शिक्षक कुनै न कुनै पार्टीको झण्डामुनि हुन्थे। उनीहरूको स्वेच्छाचारिता नियन्त्रण गर्न खोज्ने जिशिअलाई जिल्ला कटाउन राजनीतिक दल तमतयार हुन्थे। राजनीतिक दलका स्थानीय खम्बा यिनै शिक्षकहरू नै हुन्। विपक्षी दलले सरकारको विरोध गर्न बन्द हड्ताल गर्नुपर्थ्यो। विद्यालय बन्दै गर्न नपाइने सर्त उनीहरू किन मान्थे र?

दलको प्रभाव र डरभन्दा आफ्नो नैतिकताको बलको भर गरे जिशिअ नेपालले। उनले विद्यालय शान्तिक्षेत्रको घोषणा गर्न जनताकै घरदैलोमा जाने निर्णय गरे। स्थानीयले उनलाई फूलमाला र बाजागाजाले स्वागत गरे। यो उनको अभियानमा जनताको बलियो समर्थन थियो। उनले विद्यार्थी अभिभावक र शिक्षकहरूलाई जम्मा गरेर विद्यालय शान्तिक्षेत्र बनाउने प्रतिबद्धता मागे।

१४ वटा प्रतिवद्धता उनले पढेर सुनाए, त्यसमा स्थानीयले तालीले समर्थन गरे। यी प्रतिबद्धतामा विद्यालयमा राजनीतिक कार्यक्रम गर्न नदिने, बन्द हड्ताल गर्न नपाइने, विद्यालय हाताभित्र फोनसमेत प्रयोग गर्न नपाइने जस्ता कुरा उल्लेख थिए।

यसैबीचमा उनले राजनीतिक दलका नेताहरूका छोराछोरी कहाँ-कहाँ पढ्छन् भनेर सूची तयार गरे। यो सूची नै मिडियामा पठाइदिए। विद्यालय सुधार गरे, आफ्ना छोराछोरीले नै राम्रो शिक्षा पाउने हो भन्ने अभिभावकलाई लाग्न थाल्यो। विद्यार्थीहरूले पनि बुझे।
यही सुनेर एउटा कार्यक्रममा स्कुलकी बच्चीले कवितामा आफ्नो आक्रोश पोखेकी छन्। उनले त्यो कविता भिडियोमा कैद गरे र देखाए।

मिडिया मै आएका समाचारलाई आधार मानेर उनले भन्न थाले,‘नेताका छोराछोरी त राम्रा बोर्डिङ पढ्छन्, तिमीहरूका छोराछोरीले पढ्ने विद्यालयचाहिँ बन्द गर्ने? जनताका छोराछोरीले राम्रो स्कुलमा पढ्न नपाउने?’ 

कुरा मर्ममै पर्‍यो। मान्छेहरू कुरा बुझ्न थाले।

स्थानीयले ‘अब उनीहरू(नेताहरू) विद्यालय बन्द गर्न आए लखेट्छौँ’ भन्न थाले। १८ वटा विद्यालय शान्तिक्षेत्र घोषणा भएपछि केही राजनीतिक दल ‘सपोर्ट’मा आए।

‘जिसिशले गरेको कार्यक्रममा सर्वसाधारण बढी र र पोलिटिकल पार्टीको मा थोरै भएपछि त उनीहरूलाई व्यापक दबाब पर्‍यो,’ उनले सम्झिए,‘दलका अध्यक्षहरू नै विद्यालय शान्तिक्षेत्र बनाउने कार्यक्रममा अघि-अघि नै आउन थाले।’

अस्ति ३० दलको बन्दमा पाँचथरका कुनै पनि स्कुल बन्द भएनन्। पहिले-पहिले, २२० दिन खुल्नुपर्ने विद्यालय ७९ दिन मात्रै खुल्थे। ‘त्यति थोरै दिन पढेका विद्यार्थीको नतिजा कस्तो आउला?’ उनको ठहर छ, ‘१० क्लास पढ्ने विद्यार्थीले जोडघटाउ नजान्ने कारण त्यही हो।’

शान्तिक्षेत्र घोषणा गर्न जाँदा उनले जनतालाई स्कुलको भवन बनाउन सरकारले छुट्याएको बजेटबारे जानकारी दिन थाले । ‘दुई कोठे भवनको साढे सात र ४ कोठे भवनको चौबिस लाख दिन्छ सरकारले,’ उनले सभामै भने, ‘कसरी बनाउने तपाईहरूको जिम्मा हो, भवन भने गुणस्तरीय बन्नुपर्छ।’

इन्जिनियर र टेक्निसियनले पैसा खान खोजे आफूलाई फोन गर्न उनले आग्रह गरे। पैसाको दुरुपयोग हुने ढोका बन्द भयो। अहिले पाँचथरका विभिन्न ठाँउमा एक सय २८ वटा विल्डङ बनेका छन्। र, ती सबै राम्रा छन्। ६ वर्षदेखि रोकिएका विद्यालयभवनसमेत बनेका छन्।

ज्योति निमाविमा २४ लाख सरकारको पैसा अरु पैसा थपेर ४३ लाख जम्मा गरेछन् स्थानीयले। असारसम्म बनाइसक्ने म्याद भए पनि मंसिरमै भवन तयार भइसक्यो। ‘सरकारी कर्मचारी र बजेट पारदर्शी हुने हो भने स्थानीयको सहभागिता हुने उत्साहको नमूना हो यो,’ उनले अनुभव सुनाए। 

शिक्षा क्षेत्रमा जता हेर्‍यो, त्यतै समस्या देखिन्छन्। शिक्षकको दरबन्दी मिलान देशभरिकै समस्या हो पाँचथरमा पनि थियो।

चारसय विद्यार्थी हुने विद्यालयमा तीन वटा दरबन्दी थिए कतै। ‘कस्तो बनाएका थिए भने, ३ वटा प्राविको दरबन्दी छ, माध्यामिक तहको स्वीकृति दिएका छन्, त्यो स्कुल कसरी चल्ला?’उनले समस्याको पोको खोले।

दरबन्दी मिलानमा नेताहरू पटक्कै मान्थेनन्। जुन विद्यालयमा धेरै विद्यार्थी छन्, उनीहरूका अभिभावकलाई भेला पारेर उनले ३०० विद्यार्थीका लागि चाहिने शिक्षक संख्या भनिदिए।

जनतालाई उनले नेताको पोल लगाइदिए- मैले त यति शिक्षक दिन्छु भनेको नेताहरू मानेन्। अब तपाईहरू नै जानुस्।’

स्थानीयले सिडिओ कार्यालयमै गएर विरोध गर्न सुरु गरे। त्यो घटनापछि मार्नेसम्मको धम्की आउन थाल्यो। नेपाल भन्छन्, ‘ल जे गर्ने हो गर भनेर मैले दरबन्दी मिलान गरेँ।’

१४ वर्षपछि २०० दरबन्दी मिलान भयो। उनले धेरै शिक्षक भएका ठाउँबाट झिकेर थोरै शिक्षक भएका ठाउँमा दरबन्दी सारिदिए। दरबन्दी मिलान गर्दा शिक्षकको सरुवा हुन्छ। घरपायकमा जसको पर्दैन, ती शिक्षकहरूले त राजनीतिक दबाब ल्याएर खपिनसक्नु बनाउँछन्।

तर यसपालि भएन। शिक्षक सरुवापछि पनि उही जिल्लामा टिकेर बस्ने जिशिअ बने उनी।

***********

निजी विद्यालयले पोहोर साल शुल्क बढाए। उनीहरूलाई शुल्क घटाउने निर्देशन नेपालले नै दिए।

विद्यालयको जवाफ हुन्थ्यो- हामीले होइन, प्याब्सन र एन प्याब्सनले बढाएको।

‘ती संस्थाहरू सरकार हुन र? त्यसो भए उनीहरूकै स्वीकृतिमा विद्यालय खोल्नू’ जिशिअ डेग चलेनन्। उनले निर्देशन दिए, ‘सात दिनभित्र शुल्क नघटाउनेलाई रद्द गरिदिन्छु।’

उनीहरू शुल्क घटाउन बाध्य भए।

***********

पाँचथरमा उनले गरेका सुधारको व्यापक प्रचार भएको छ । एकदिन एउटा अचम्मलाग्दो मेसेज आयो उनको मोबाइलमा- जिशिअ सर, नमस्कार। एकचोटि संखुवासभा आउनपर्‍यो। त्यहाँ टिचर गाँजा खाएर स्कुल आउँदा रहेछन्। आए पनि नपढाउने रहेछन्। स्कुल खेलमैदान भयो के गर्नु?

उनका काम मिडियामा आएपछि अहिले देशभरिबाट फोन आउन थालेका छन्।

तेह्रथुमको त्रिमोहन उमाविमा उनलाई बोलाइयो। शिक्षक अनिरुद्र तिमिल्सिनाले बोलाएका थिए । नेपाल शनिबार गएर छलफल गरेँ। तिमिल्सिनाले त मिडियामा भनेछन्- हामीलाई पनि ज्ञानमणिजस्तो जिशिअ चाहियो। त्यहाँका जिशिअ रिसाए।

फोनमा उनलाई नियमित सूचना दिने एक मान्छे छन्। उनले कुन-कुन शिक्षक, कहाँ-कहाँ कस्तो काम गरिरहेको छ भनेर सूचना दिन्थे। उनको सूचना झुटो हुँदैनथ्यो- कोही कक्षा छोडेर व्यापार गरिरहेका भेटिन्थे, केही गफ गरेर बसेका, केही जाँड खान गएका।

नराम्रो गर्ने सबैको हायलकायल भयो। उनले ’विभागीय कारबाही गर्छु’ भन्ने चेतावनी दिए। सम्झाएर छोडे। तर कारबाही नै गर्नुपरेन। किनभने उनीहरूमा सुधार आयो।

*******

जिशिअ भएर जनताको मन जिते। विद्यार्थीको प्रिय भए। शिक्षकहरूको क्षमतालाई अभिवृद्धि गर्न सधैँ खटिए। उनले गरेका कामले विद्यालयको मुहार फेरिन थाल्यो।

सरकारले भने उनको कामको पुरस्कार दियो- भएका ८ कर्मचारीलाई काजमा राखिदिएर। अहिले उनको कार्यालयमा जम्मा ४ कर्मचारी मात्रै छन्।

‘उहाँहरूले काज माग्नु भयो होला, मन्त्रालयले दियो। मलाई एकपटक पनि सोधेन,’ उनले भने ‘अख्तियार, पनिका, अनौपचारिक शिक्षातिर काजमा राखेको छ। पाँचथरमा राम्रो काम गरे भनेर सुधार्न ल्याउनुभएको होला भन्दिएँ, के गर्नु त?’

पहिलेका शिक्षा विभागका महानिर्देशक लवदेव अवस्थीले राम्रो काम गरेको भनेर उनको प्रशंसा गरे । नेपालले आफूले गरेको कामबारे सुनाउँदै वर्कबुक, शिक्षक तालिमलगायतका कुरा गर्थे। तर विभागबाट उनले जवाफ पाउँथे, ‘केही सहयोग गर्न सक्ने स्थिति छैन।’

उनलाई व्यक्तिगत सहयोग चाहिएको होइन। चाहेको भए सरकारले र शिक्षा मन्त्रालयले उनले गरेका काम अरु ठाउँमा पनि गराउन सक्थ्यो। त्यो उनका लागि साँच्चै उत्प्रेरणाको विषय हुन्थ्यो।

उनका बारे मिडियामा आएपछि मुख्यसचिव लिलामणि पौडेलले उनलाई प्रोत्साहित गरे। ‘केही चाहियो भने भन्नुहोला’ भन्ने आश्वासन पाए। नेपाललाई यति भए पनि धेरै भएजस्तै लाग्छ। उनले सुनेका छन्-  मुख्यसचिवले अन्य सहसचिवलाई उनको उदाहरण दिएर प्रश्न सोधे रे- तपाईँहरू ज्ञानमणिले जस्तो काम गराउन किन सक्नुहुन्न?

यही हो, सरकारका तर्फबाट उनले पाएको पुरस्कार।

उनको काममा भ्रष्टाचारको गन्ध छैन। उनी आफ्नो क्षमताले भ्याएसम्म कर्तव्य पूरा गर्छन् र इमानमा बस्छन्।

त्यसैले उनले ‘इन्टिग्रिटी आइडल’को उपाधि पाए। अहिले ‘अक्सफाम अमेरिकाको एड इफेक्टिभनेस’ विभागले उनलाई संभाषणका लागि बोलाएको छ। उनी यही मार्चमा एकहप्ता आफ्नो कामबारे बोल्न अमेरिका जाँदै छन्।

******

उनले स्कुलको शिक्षामा मात्रै सुधार गरेनन्, साक्षरता अभियान पनि चलाए। साक्षर बनाउने उनको तरिका बेग्लै छ- ‘इचवान टिचवान’ (एकजना पढेलेखेको मान्छेले एकजनालाई साक्षर बनाउने)।

सरकारले लाखौँ रुपैँया खर्च गरेर साक्षरता अभियान चलाएको छ। तर, उनको अभियान छ- पाँचथरमा बिना पैसा साक्षर बनाउने।

साक्षरता अभियानअन्तर्गत जेठ १५ सम्ममा साक्षर बनाइसक्नुपर्ने छ। प्रत्येक घरका मान्छेले आफ्नै घरका निरक्षरलाई अक्षर चिनाउनुपर्नेछ। यस्ता घरलाई साक्षरता प्रमाणपत्र दिन्छन्। जसले साक्षरता प्रमाणपत्र पाउँदैन, उसले गाविसबाट कुनै सिफारिस पाउने छैन।

‘साक्षरता प्रमाणपत्र नपाएको घरको मानिसले सरकारी सेवा नपाउने नियम बनाइदियौँ,’ यो सिडिओको सहयोगमा मात्रै सम्भव भएको नेपालले बताए।

अहिले साक्षर जिल्लामा सफासुग्घर गाउँ भन्ने नारासाथ सरसफाइ र साक्षरता अभियानसँगै चलेको छ। ‘यसो गरेपछि स्कुल, बालबालिका र गाउँ सफा हुन थाले,’ नेपालले भने।

******

 

ज्ञानमणि नेपाल जिशिअ भएपछि पाँचथरमा शिक्षा सुधार त अभियान नै चल्यो। उनले पनि वाहवाही पाए। तर एसएलसीको नतिजा स्वाट्टै घट्यो।

एकदिन नेपाल शिक्षा मन्त्रालय आए। उनले चाहिने सामग्री र बजेटका कुरा गरे। अनि लगबुक लागू गराएका कुरा गरे।

सचिवले उनलाई सोधे- एसएलसीमा कति प्रतिशत आयो जिल्लाको?

उनी पाँचथर गएपछि एसएलसीमा चिट चोराउनेहरू कारबाहीमा परे। स्कुलमा जति पढेको थिए, त्यही जाँच दिँदा विद्यार्थी हुने फेल नै हो। मूल्यांकन पद्धतिबारे नेपालको विश्लेषण छ- शिक्षणपद्धति कस्तो छ भने विद्यार्थीलाई एकवर्ष घिचाउँछ र ३ घण्टामा भोमिटिङ गराउँछ।

सचिवलाई केही नभनी उनी फर्किए।  वार्षिक ८/९ लाख  मन्त्रालयले पठाइदिए वर्कबुक बनाउँछु भन्ने उनको योजना थियो। यसअघि मसलन्द खर्चका लागि जिशिकामा आएको तीन लाख र जिविसले दिएको एक लाख गरी चार लाखले त्यो वर्कबुक बनाएका थिए। एक कक्षाका लागि केही नमूना विद्यालयमा पढाउन उनले ट्रायल गरेका थिए।

स्थानीय सामग्रीको चिनारी र प्रयोगबारे वर्कबुकमा लेखिएको थियो। ‘त्यो वर्कबुक अनुसार पढाउँदा विद्यार्थीले छिटो सिके,’ उनले भने, ‘हामीले त्यो बुक डेढसय ठाउँमा दियौँ। मन्त्रालयले सहयोग गरेको भए जिल्लाभरि बाँड्न सकिन्थ्यो।’

तीन सय ९४ वटा विद्यालयका एक कक्षाका लागि वर्कबुक बनाउन उनले त्यो पैसा मागेका थिए। उनको सोच थियो-तीन कक्षासम्म वर्कबुक नै बनाएर पठाउनुपर्छ।

‘टेक्स्ट बुकबाट भन्दा वर्कबुकबाट विद्यार्थीको सिकाइ छिटो र राम्रो हुन्छ। पाठ्यक्रमको उद्देश्य पूरा हुन्छ,’ नेपाललाई लाग्छ, ‘हाम्रो पढाउने तरिका नै भएन कोर्स भने एकदम राम्रो छ।’

****

तपाईंलाई शिक्षामा थप सुधार गर्न अहिले के चाहिएको छ ?

सेटोपाटीको प्रश्नको जवाफमा उनले भने- रंगीन चित्र भएका किताब।

पाँचथरका विद्यालयहरूमा पुस्तकालय खोल्ने उनको अर्को रहर हो। पुस्तकालयमा ठुल्ठूला किताब हुनुपर्दैन। पुस्तकालय त बच्चाहरूका लागि हुनुपर्छ। ‘यहाँ त बच्चाहरूलाई मन्टेश्वरीमा पढाउँछन्,’ उनले भने, ‘उनीहरूले प्रयोग गरेर यसै राखिएका किताब नै भए पनि हुन्थ्यो।’

‘साना कक्षाका विद्यार्थीलाई राम्रो सिकाउन पाएँ’ भन्ने उनको धोको लगभग पूरा भइसकेको छ। जिशिअ नेपाल भन्छन्- अब उनीहरूलाई पुस्तकालयमा पढ्ने बानी बसालिदिन पाए उनीहरू त्यसपछि ज्ञानको सागरमा आफैँ पौडिने थिए।

साभार :सेतोपाटी

प्रकाशित मिति : २०७१ फाल्गुन १७ (March 01, 2015)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

अन्य प्रेरक व्यक्तित्वहरु

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि कोरिया सरकारबाट अनुमति पाएको पहिलो रेमिट्यान्स कम्पनीद्धारा सेवा आरम्भबहुमुल्य आइफोन X यसै महिना कोरियाली बजारमा आउदै, मुल्य भने छुन नसकिने रोजगारीका लागि कोरिया आएका एक नेपालीले तयार पारे कोरियन भाषा अध्यन सम्बन्धि मोवाइल एप्स हुने भयो नबौं कोरियन भाषा परिक्षा ,आबेदन फाल्गुनमा खुल्ने कोरिया सरकारबाट अनुमति प्राप्त पहिलो रेमिट कम्पनी जिएमईको नेपालका गर्भनरद्धारा भोली समुद्घाटन हुने, अवैधानिक च्यानल निस्तेज हुने आशा
कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफलकोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि नेपालमा तिहार रौनक छाइरहेको बेला कोरियामा एक नेपाली युवाद्धारा झुण्डिएर आत्महत्याकोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिनेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal