|
करीब ८ बर्ष अघिदेखि बालबालिकाहरुका लागि आफ्नो जीवन ब्यतित गर्दै आएकी पुष्पा बस्नेतलाई कोरिया स्थित इल्गा फाउन्डेशनले इल्गा युवा अवार्डले सम्मान गर्ने भएको छ । इल्गा फाउन्डेशनले यहि अगष्ट ७ का दिन नेपाली उनलाई यस बर्षको इल्गा युवा अवार्डले सम्मान गर्न लागिएको घोषणा गरिएको हो । इल्गा फाउन्डेशनका प्रतिनिधी ना यङ सनले दिनु भएको जानकारी अनुसार सन् १९८९ मा स्थापित यो फाउन्डेशनले स्वयम् सेवाका भावना लिई अरुका लागि स्वयम् सेवा गरिरहेका कोरियन नागरिकहरुका साथसाथै एसियाका सम्पूर्ण नागरिकहरुलाई यो अवार्ड प्रदान गर्दै आएको छ ।
उनका अनुसार आउंदो सेप्टेम्बर १ का दिन नेपाली पुष्पा बस्नेतलाई सउलको छुङजङनो स्थित हलमा एक भब्य समारोहको आयोजना गरी सो अवार्ड दिने योजना रहेको बताउनु भयो भने अवार्ड ग्रहण गर्नका लागि पुष्पा बस्नेत नेपालबाट यहि ३० का दिन दक्षिण कोरिया आईपुग्ने भएका छन् ।
आफ्नो अभिभावकले गरेको दोषका कारण घरमा हेरचाह गर्ने मान्छेहरु नभएपछि बिवश रुपमा त्यस घरका बालबालिकाहरु जेलमै अभिभावक संग बस्न बाध्य हुन्छन् । बिना कसुर जेलमा बस्न बाध्य ती बालबालिकाहरुका लागि आजभन्दा ८ बर्ष अगाडी पुष्पा बस्नेतले छुट्टै हेरचाह गर्ने बाल आश्रमको निर्माण गरि त्यस ठाउंबाट छुटकारा दिन शुरु गरेकी थिइन् ।
शुरुमा १ जना सानुकान्छी भन्ने एकजना बालिका देखि शुरु गरेको यो काम आजको दिनसम्म आईपुग्दा बालबालिकाहरुको संख्या लगभग ५० नाघिसकेको छ । इल्गा युवा अवार्डका लागि छानिएका पुष्पा बस्नेतले यो अवार्ड मार्फत सम्मान स्वरुप कोरियन १ करोड वन् अर्थात नेपाली रु ७ लाख ७० हजार पाउने भएकी छिन् भने उनलाई यो अवार्डसम्म पुर्याउनमा नेपाल कोरिया न्युज डटकमको उल्लेखनीय सहयोग रहेको छ । नेपाल कोरिया न्युज डटकम कै पहलमा दक्षिण कोरियाको पहिलो टेलिभिजन KBS ले यहि फेब्रुअरी २० का दिन पुष्पा बस्नेतसंग सम्बन्धित जेलका बच्चाहरु नामको डकुमेन्ट्री प्रशारण गरिसकेको छ ।
सानुकान्छी नै किन पहिलो ? पुष्पा बस्नेतले सामाज शास्त्रमा डिग्रीको अध्ययन गर्ने क्रममा एक दिन उनले जेल भित्र फिल्ड वर्क गर्ने मौका पाएकी थिइन् । जेलमा कैदीहरु अर्थात ठुला मान्छेहरु मात्र बस्ने गर्छन् भन्ने उसलाई थाहा थियो तर उनलाई यो कुरा थाहा थिएन कि कैदीहरुसंग बच्चाहरु पनि साथ बस्दोरहेछन् । जेलमा पुग्दा उनले सबैभन्दा पहिले सानुकान्छीलाई देखिन् र बच्चा देखेर उनी आश्चर्य चकित भएकी थिइन् । पछि सोध्दा पो थाहा पाईन् कि घरमा सानुकान्छीलाई हेर्ने मान्छे नभएर आमासंगै बस्दिरहिछन् ।
जब जेल भित्र उनी आफ्नो काम सकेर फर्कन लागिन् त्यसपछि सानुकान्छीले पुष्पाको कुर्था समातेर छोडिनन् । पुष्पा भन्छिन् सानुकान्छीले त्यसरी समात्दा उनले मबाट केही मागेको जस्तो अनुभूति भयो मैले आफ्नो आंखामा आंशु थाम्न सकिन । त्यसपछि मैले यो बच्चालाई जसरी नि यहांबाट छुटाउने प्रण गरें जसको कारणले मलालाई यहांसम्म दोहोर्याएको छ । |