|
हिजो मात्र प्युठानका ओम प्रसाद शेरचनले आत्महत्या गरेको घटना सेलाउन नपाउंदै फेरी अर्का नेपालीले हाम फालेर आत्महत्या गरेको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार १ वर्ष अघि ईपिएस मार्फत कोरिया आएका पोखरा निवासी २५ वर्षिया नविन कुमार गुरुङले बुधवार बिहान नौ बजे थेगुमा प्रहरीको अगाडी १५ तलामाथीबाट हाम फालेर आत्महत्या गरेको बताइएको छ ।
केही दिन अगाडि कम्पनीबाट घर जान्छु भनी कुरा गरेर गत जुलाई २३ सोमबारका दिन बेलुका थाई एयरको टिकट समेत लिएर एयरपोर्ट जाँदै छु भनी बिचबाट साथीहरुलाई फोन गर्दै अब ब्याट्री छैन कुरा गर्न गारो छ भनेका उनले बेलुका ३, ४ बजेतिर अर्कै मोबाइलबाट फोन गरी पुन सम्पर्क बिहीन भएको कुरा उनि कार्यरत कम्पनीका अन्य नेपालीहरुलाई उद्यृत गर्दै एनआरएन अध्यक्ष केपी सिटौलाले जनाएका छन् ।
साथीहरुलाई शंका लागेर सोधखोज गर्दा आनसानमा हिड्दै गरेका अन्य नेपाली साथीहरुको मोबाइल मागेर फोन गरेको भन्ने पत्ता लागेको थियो । उनीसँगै काम गर्ने साथीहरुले घरमा फोन गरी २४ तारिख काठमान्डौंको एयरपोर्टमा लिन आउनु भनेर खबर समेत गरिदिएको सिटौलाले बताए । दोङजीन चिमजाङ अर्थात सिरक बनाउने कम्पनीमा कार्यरत उनीसँग अन्य १५ जना नेपालीहरु रहेको बुझिएको छ । आज बिहान थेगु स्टेशन नजिकै अपार्टमेन्टको दशौं तला बाहिर एसिको पाइपमा चढ्दै गरेको दृश्य देखेर अपार्टमेन्टवालाले चोर हो भनी पुलिसलाई खबर गरिदिएपछि पुलिस आएर ओर्लिन भन्दा पनि चढ्दै गरेपछि आकस्मिक गाडि बोलाएर तल जालीहरु बिछ्याउदै गर्दा १५ औं तलाबाट उनले हात छोडिदिएपछि उनको घटनास्थलमै मृत्यु भएको थेगु प्रहरीबाट खुल्न आएको छ ।
हाल मृतकको लाश थेगु स्टेशन नजिकैको पाटिमा अस्पतालको लाश घरमा राखिएको र बेलुका तिर कागजातहरु राजदूतावासमा पठाएको जानकारी समेत प्राप्त भएको छ । घरको एकमात्र छोरा बिएसम्मको अध्ययन पुरा गरी शिक्षक पेशामा कार्यरत उनको स्वभाव मिलनसार र व्यावहारिक रहेको उनी कार्यरत कम्पनीका साथीहरुबाट थाहा हुन आएको छ । केही महिनादेखि उनी प्रेम सम्बन्धको कारणले तनावमा रहेको र उनको व्यवहारमा निकै परिवर्तन देखिएकोले साथीहरुले उनलाई घर जान सल्लाह दिएको पनि खुल्न आएको छ ।
टेलिफोन मार्फत घटनाको जानकारी दूतावासलाई गराएको र सँगै काम गर्ने साथीहरु मार्फत परिवारलाई आज बेलुका ८ बजेतिर जानकारी गराएपछि परिवारले लाश पठाउन अनुरोध गरेको सिटौलाले बताउनुभयो । घटनाबारे थप अनुसन्धान र लाश पठाउने प्रक्रियाबारे भोलिबाट दूतावासले पहल गर्ने बुझिएको छ । यसैक्रममा एनआरएन कोरियाले एक सुचना मार्फत यस दुःखद घटनाले आफू र आफ्नो संस्था मर्माहत भएको भन्दै मृतकको आत्माको चिर शान्तिको कामना गर्दै यो दःुखद घटना सहन सक्ने शक्ति परिवारलाई मिलोस् भन्ने कामना गरेको छ । अध्यक्ष सिटौलाले विदेशमा साना तिना दुःख पिडाहरु पर्न सक्ने भएकाले त्यसबाट निराश भएका आफ्ना साथीहरुको पिडालाई बुझि आफू या आफ्नो नजिकका कोही त्यस्ता विचलित साथीहरुलाई बेलैमा केही उपायहरु खोजी समस्या समाधानमा सहयोग गर्न सकिएमा थोरै भएपनि यस्ता घटनालाई कम गर्न सकिने भएकोले यसतर्फ सबै प्रवासी नेपालीहरुको ध्यान जाओस् भन्ने अनुरोध पनि गर्नुभएको छ ।
|